दार्चुला जिल्लाको संक्षिप्त परिचय नेपालको सुदूर पश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत महाकाली अञ्चलका ४ जिल्ला मध्ये छुट्टै महत्व रहेको यो जिल्ला एशियाका दुई शक्तिशाली राष्ट्र भारत र चीनको सिमानासंग जोडिएको दार्चुला जिल्लाको नाम दार्चुला कसरी रहन गयो भन्ने सम्बन्धमा कुनै लिखित प्रमाण प्राप्त नभएतापनि विभिन्न किबंदन्तिहरु सुन्न पाईन्छन् । दार्चुला शव्द उच्चारण गर्दा दारचूला भए पनि स्थानीय भाषाको दुईवटा शव्द धार र चूला बाट विकसित भएको हो। स्थानीय भाषामा धारको अर्थ पहाडको अग्लो चुचुरो र चुलाको अर्थ चुल्हो हुन्छ। यस भेगमा खान पकाउन प्रयोग गरीने चुल्होहरु प्रायः एक समानका तिन वटा ढुङ्गाहरुमा माटो पोतेर चुचुरो को आकारमा वनेका हुन्छन् । यसरी तिनै तिर चुचुरो (धार) जस्तो चुल्हो वनाई खान पकाउने ठाउँ भएकोले धारचुला नाम रहेको र धारचुला पछि अपभ्रम्स भई दारचुला र त्यसपछि दार्चुला वन्न गएको हो भन्ने एक थरिको भनाई रहेको छ । अर्को किम्वदन्ति अनुसार यहाँ स्थित तिन वटा पहाडका चुचुराहरु वर्तमानमा एक पहाड भारत र दुई वटा पहाड नेपाल मै रहेका छन् । फेदी बाट हेर्दा धार परेको जस्तो स्थानीय चुल्होको आकारमा चुचुरो देखिन्छ । प्राचिन कालमा व्याँस हिमालबाट व्याँस ऋषि तपस्या गरी फर्कदा यी तिन धारहरुको चुल्हो वनाई भात पकाई खाएको हूनाले यो ठाउको नाम धारचूला रहन गएको र धारचूला शव्द अपभ्रम्स भई दार्चुला रहेको हो भन्ने अर्को भनाई रहेको छ । दार्चुला जिल्लाको सिमाना चीनको तिव्वत क्षेत्र सित जोडिएको छ । तिव्वत संग व्यापार गर्ने यहाँको प्रमुख नाकाको रुपमा व्याँस क्षेत्र रहेको छ । व्याँसबाट तिव्वत क्षेत्रमा आवत जावत गर्दा एउटा भन्ज्या¨ पार गरी जानुपर्ने हुन्छ । जसलाई तिव्वति भाषामा “ला” भनिन्छ । यो भन्ज्याङ तिव्वत सिंत व्यापार गर्ने द्वार (बाटो) भएकोले द्वार र ला शब्दहरु मिलि दार्चुला नाम रहन गएको हो भन्ने पनि भनाई पाईन्छ । यस जिल्लाको पूर्वमा वझांग जिल्ला, पश्चिममा भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा बैतडी जिल्ला रहेका छन् । विश्व मान चित्रमा २९ डिग्री ३६ मिनेट उत्तर देखि ३०डिग्री १५ मिनेट उत्तरी अक्षांश र ८०डिग्री २२ मिनेट पूर्व देखि ८१ डिग्री ०९ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ। यस जिल्लाको कुल क्षेत्रफल २३२२ वर्ग कि.मी. छ।समुद्री सतह बाट ५१८ मी. देखि ७१३२ मी. सम्म उचाई रहेकोछ। बार्षिक औषत बर्षा २१२९ मी.मी. रहेको त्यस्तै औषत तापक्रममा न्यूनतम ५.७०से. अधिकतम २८.६०से.रहेको पाईन्छ यस जिल्लाको अग्लो अपी हिमाल, लिपु लेक आदि जिल्लाको आकर्षणको केन्द्र रहेकाछन्। यस्तै चीनको तिब्बत क्षेत्रमा अवस्थित हिन्दूहरुको महत्वपूर्ण तीर्थ स्थल तथा पर्यटकीय महत्व समेत बोकेको मानसरोवर जाने प्रमुख मार्गको रुपमा समेत दार्चुला जिल्ला रहेको छ।यस जिल्लाको सदरमुकाम खलंगा महाकाली नदीको किनारमा भारतको धारचुला सित जोडीएर रहेको छ। दार्चुला जिल्ला एक संसदीय विकास क्षेत्र, १० वटा ईलाका १ वटा नगरपालीका र ३६ वटा गा.वि.स.हरुमा विभाजित छ । यस जिल्लाका ७ वटा गा.वि.स.हरु नगरपालीका भारतीय सिमा संग महाकाली नदिले छुट्याएको छ, भने ब्यास गा.वि.स. चीन र भारत दुबै संग जोडिएको छ। २०६८ सालको राष्ट्रिय जनगणना अनुसार दार्चुला जिल्लाको कुल जनसंख्या १३३२७४ रहेको छ। जस मध्ये पुरुषको संख्या ६३६०५ रहेको छ भने महिलाको संख्या ६९६६९ रहेको छ, दार्चुला जिल्लामा कुल घरधुरी संख्या २४६१८ रहेको छ साथै दार्चुलाको औसत घरधुरी आकार ५.४१ र जनघनत्व ५७ प्रति वर्ग किमी रहेको छ भने जिल्लाको बार्षिक जनसंख्या बृद्धि दर ०.९०% रहेकोमा लै‌गिक अनुपात ९३.३ रहेकोछ साथै जिल्लामा २६.९४% घरधुरीमा विधुत सेवा पुगेकोछ, भने ३३.०५% घरधुरीमा सोलार सुविधा रहेकोछ।दार्चुला जिल्लाको कुल साक्षरता दर ६५.३६ प्रतिशत रहेकोमा महिला साक्षरता दर ५२.८८ प्रतिशत पुरुष साक्षरता दर ७९.२६ प्रतिशत रहेकोछ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार दार्चुला जिल्लामा ८२.५६% खानेपानी सुविधा पुगेको देखिन्छ र सरसफाईमा ४६.७७% दार्चुलावासीले मात्र चर्पीको सुविधा प्राप्त गरेका छन् । यसरी हेर्दा राष्ट्रिय सरसफाईको तथ्याङ्क भन्दा भन्दा १५% पछाडि रहेको देखिन्छ। दार्चुला जिल्लालाई खुल्ला दिसा मुक्त क्षेत्र तथा सरसफाई क्रियाकलाप कार्यान्वयन गर्न विभिन्न कार्यालय संघ संस्थाको सक्रिय भूमीका रही आउँदा आ.ब. २०७२ फागुन सम्ममा ३२ गाविस र अपी नपा का ३ वडा (सविकको छापरी गाविस) खुल्ला दिशा मुक्त गाविस घोषणा भई सरसफाईमा ९०.१७% पहँच पुगेकोछ । जिल्लाको स्वास्थ्य सम्बन्धि सुविधा अन्तरगत जिल्ला अस्पताल १, प्रा. स्वा. के. १, स्वास्थ्य चौकी ११, महिला स्वयम् सेविका ३६९, उप स्वास्थ्य चौकी २९, मातृशिशु कार्यकर्ता ३६, आयुर्वेद औषधालय ३, तालिम प्राप्त सुडेनी ९०, डट्स उपचार केन्द्र १३ उपचार उप केन्द्र २९ खोप क्लिनिक १४७, गाउँ घर क्लिनीक १४१ बर्थिङ सेन्टर ४ रहेका छन् । विकासका सूचाकाङ्कहरुलाई मध्य नजर गर्दा कुल साक्षरता दर, प्रति व्यक्ति आय, औसत उमेर, बाल मृत्यु दर, शिशु मृत्यु दर, जन्म दर, मातृ मृत्यु दर, मृत्यु दर आदि धेरै जसो नकारात्मक रहेका छन् । यस जिल्लाको ९०% भन्दा बढी जनसंख्या कृषिमा आधारित छन् । कृषि क्षेत्रमा नयाँ प्रविधिको विकास हुन नसकेकोले कृषि उत्पादन क्षेत्रमा राम्रो उत्पादन हुन सकेको छैन जसले गर्दा खाद्य सन्तुलन नकारात्मक रहेको छ। भौगोलिक विकटता र विविधता रहेको यस जिल्लाको आर्थिक कृयाकलाप समेत न्यून रहेको छ। अतिशित, सितोष्ण, समसितोष्ण, अर्ध उष्ण, लेकाली हावापानी भएको दार्चुला जिल्लाको भू उपयोगको अवस्था बिश्लेषण गर्दा कूल क्षेत्रफल २३२९५९.५ हे. मध्ये खेतियोग्य जमीन ६१२१५ हे., वनको क्षेत्र ७२९८२.३ हे., चरन क्षेत्र २४.९६४ हे., झाडिबुटा ६५५५.२ हे., अन्य ६७२४३ हे. रहेकोछ। भू-विभाजन अनुसार समथर प्रदेश अन्तरगत महाकाली, चौलानी र अन्य त्यस्तै ठुला खोला नालाहरुको किनारमा अवस्थित भित्री मधेश संग तुलना गर्न सकिने समथर उब्जाउ फाँटहरु समथर प्रदेश अन्तरगत पर्दछन।जिल्लाको प्रमुख अन्न भण्डारको रुपमा चर्चा पाएको यो समथर प्रदेशमा जनसंख्याको चाप जनघनत्व पनि अत्याधिक रहेको छ।उकू, लाली, दत्तू, गोकुलेश्वर, शिखर, देथला, धाप आदि गा.वि.स.हरु यस प्रदेशका प्रमुख उदाहरण हुन । पहाडी प्रदेश अन्तरगत यस जिल्लाको मध्य भागमा रहेको उच्च समस्थली यस प्रदेश अन्तरगत पर्दछन। समथर भूभागको तुलनामा केही कम उत्पादन हुने भएता पनि अपेक्षाकृत उब्जाउ क्षेत्र नै मानिन्छ।शंकरपुर, भगवती, सर्मोली, रानीशिखर, रिठाचौपाता, ग्वानी, डाडाकोट, हिकिलाआदि गा.वि.स.हरु यस प्रदेशका प्रमुख उदाहरण हुन् । लेकाली प्रदेश अन्तरगतप्राकृतिक सौन्दर्यताले सिंगारिएको तर उत्पादनका दृष्टिकोणले कम उर्बरक क्षेत्र लेकाली प्रदेश अन्तरगत पर्दछ, प्रायः हेमन्त ऋतुमा हिमपात हुनु यस प्रदेशको बिशेषता हो। लेकाली प्रदेश अन्तरगत सुन्सेरा, राप्ला, खण्डेश्वरी, घुसा, इयरकोट आदि गा.वि.स.हरु पर्दछन। हिमाली प्रदेश अन्तरगत जिल्लाको उत्तर पट्टीको चीनको तिब्बतसँग सीमा जोडिएको सामान्यतया बाह्रै महिना हिँउले ढाकिएको क्षेत्रमा उत्पादन मात्रै होइन मानिसहरुको बसोबास समेत नगण्य छ । हिँउदमा तल बेशी खलंगा तिर झर्ने र गृष्ममा फर्किने यहाँ बसोबास गर्ने (सौका) समुदायको प्रमुख विशेषता बोकेको ब्यास गा.वि.स. यस प्रदेश हो ज्वलन्त उदाहरण हो । यस जिल्लाको भौगोलिक बनोटमा देखिएको बिबिधता झैं हावापानी तथा वातावरणमा पनि बिषमता देखिनु अतिसयोक्ति नहोला । तसर्थ दार्चुला जिल्लाको हावापानीलाई विविध तरिकामा बिभाजन गर्न सकिन्छ । जिल्लाको पश्चिम दक्षिणमा नदीका समथर बेशीहरुमा उष्ण हावापानी पाईन्छ। ग्रीष्ममा अत्याधिक गर्मी र हिउदमा आंसिक रुपमा चिसो हुनु यस हावापानीको मुख्य बिशेषता हो । खास गरि गोकुलेश्वर, दत्तू, लाली, उकू आदि गा.वि.स.हरु जुन समुद्र सतह देखि करिब ५१८ मी. को उचाईमा रहेका छन् त्यहां यस किसिमको हावापानी पाईन्छ। समसितोष्ण हावापानी जिल्लाको मध्य भागमा रहेको गा.वि.स.हरुमा यस किसिमको हावापानी पाईन्छ। गृष्ममा त्यती गर्मी र हिँउदमा साह्रै चिसो अनुभुती नहुनु यो हावापानीको मुख्य बिशेषता हो। रिठाचौपाता, शंकरपूर र छापरी आदि यस किसिमको हावापानी पाईने गा.वि.स.हरु हुन भन्न सकिन्छ। यस जिल्लामा सितोष्ण, सम सितोष्ण, अतिशीत हावापानी यस जिन्लामा ५ किसिमका वनहरु पाईन्छन् जस अनुसार कोणधारी वन, हार्डउड वन, मिश्रित वन, झाडी बुट्यान, अन्य रहेका छन्। यस जिल्लाको वनको कुल क्षेत्रफल ७२९८२।३ हेक्टर रहेको छ । जस मध्ये सामुदायिक वन क्षेत्रले ओगटेको क्षेत्रफल ३७२१.७१ हे. उपभोक्ता समितिहरुलाई हस्तान्तरण गरी सकिएको छ । आइ.सि.आइ.एम.ओ.डि.१९९७ अनुसार वन जंगलमा आश्रित घर संख्या २७.५ % रहेको छ । यस जिल्ला भित्र पाइने वनस्पतिहरु मध्ये देवदार, बाज, सल्लो, साल, टुणी, उतीस, सिमल, चिउरी, लालीगुराँस, बाँस, कोइराल, साज, सानन, धुईयो, मौनेठी, पैंयो,जामुन, जस्ता वनस्पतीका साथै यार्सागुम्बा, पाँचऔले, झयाउ, भुतकेश, भोजपत्र, भ्याकुर, दालचिनी, टिमुर, पाषाणदेव, पदमचाल, दारुहल्दी, तितेपाती, लोठसल्ला, गुच्ची च्याउ, कुमकुम, सिकाकाई, सतुवा, सेतक चिनी, कुटकी, काफलबोक्रा, ओखरबोक्रा, धुपीपात, तेजपात र रिठ्ठा आदि जडिबुटी समेत रहेका छन्। यो जिल्ला पर्यटकीय क्षेत्रमा पनि धनि रहेको छ, यस जिल्लाका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा अपी हिमाल ७१३२ मी.(घुसा), व्यास हिमाल ६७७० मी. (व्यास), नाम्पा ६७५४ मी. (व्यास), महलको भग्नावशेष (उकु), सुरमासरोवर ताल (खण्डेश्वरी), लिपु लेक ५००० मीटर धर्मी गुफा (खण्डेश्वरी), शिखर डाडा, मालीकार्जुन, मालीकार्जुन मन्दिर मालीकार्जुन, हुनैनाथ मन्दिर हुनैनाथ, जयपुर मन्दिर रिठाचौपाता, बन्तोली मन्दिर बोहरीगाँउ, महलको भग्नावशेष देवल, गोकुलेश्वर शिव मन्दिर गोकुलेश्वर रहेकाछन् । स्रोतः जिल्ला विकास योजना किताब २०७३/७४

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

कबीर हिंदी साहित्य के महिमामण्डित व्यक्तित्व

बारिश की रात